२०८० चैत्र १६, शुक्रबार    

हेटौंडा जेसीजको सप्ताह शनिबारदेखि

२०८० बैशाख २९, शुक्रबार १९:५६ बजे

जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२३ शनिबारदेखि सुरु हुने भएको छ । जेसीआई हेटौंडाले शुक्रबार पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहबारे जानकारी दिएको हो ।

जेसीआई हेटौंडाका अध्यक्ष श्रवण कुमार बर्तौलाले जेसीज सप्ताहबारे जानकारी दिएका थिए । जेसीआई हेटौंडाका कार्यकारी उपाध्यक्ष अमृत बर्तौलाका अनुसार कार्यक्रमको उद्घाटनको दिन शनिबार हेटौंडा–५, पिप्लेदेखि मनकामना मन्दिरसम्म मनकामना अपहिल साइक्लिङ प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ । आइतबार रक्तदान कार्यक्रम, सोमबार अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, मंगलबार अम्बिकादेवी कार्की स्मृति हाजिरिजवाफ प्रतियोगिता हुनेछ । हाजिरिजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार प्राप्त गर्ने छन् । बुधबार स्लो मोटरसाइकल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले हेल्मेट प्राप्त गर्ने छन् । विहीबार हेटौंडा–१५, चिप्लेटीमा शैक्षिक सामग्री वितरण कार्यक्रम हुनेछ । अन्तिम दिन अगामी शुक्रबार समापन कार्यक्रम हुने बताइएको छ ।