२०८३ श्रावण १९, मंगलबार    

ए डिभिजन लिग – तयारी वापत हरेक क्लबलाई साढे ३२ लाख

२०७९ कार्तिक २१, सोमबार १८:२१ बजे

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुसको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेको सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । त्यहि क्रममा एन्फाले सोमबार ए डिभिजन लिगका सहभागी क्लबसँगको छलफलका क्रममा तयारी खर्च वापत गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति गरेको छ ।

अब लिग तयारीमा ए डिभिजन क्लब प्रत्येकले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सहभागी हरेक क्लबले २२ लाख ५० हजार रुपैयाँ तयारी वापत पाएका थिए । ‘यस पटक १० लाख रुपैयाँ बढी तयारी खर्च दिने निर्णय भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘ लिग पूर्व निर्धारित पुस २६ गतेबाट नै सुरु हुनेछ ।’ एन्फाले यसअघि नै डबल लिगका आधारमा ए डिभिजन लिग सञ्चालनको निर्णय गरेको थियो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी, सदस्य तथा सहभागी हरेक क्लबका ३ प्रतिनिधिको उपस्थिति थियो । यस पटक पनि लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

हरेक खेलको म्याच मनि ५० हजार राखिएको छ भने लिगको सर्वाधिक गोलकर्ता, उत्कष्ट गोलकिपरले समान २ लाख रुपैयाँ पाउनेछन् । इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख रुपैयाँ पाउने एन्फा प्रवक्ता शाहले जनाए । हरेक खेलको म्यान अफ दी म्याचले यसअघि जस्तै १० हजार रुपैयाँ पाउनेछन् ।