२०८१ बैशाख १३, बिहीबार    

बानियाँले भनेः गठबन्धनको सरकार बनेपछि ५ वर्षमा १० हजार गरिबका घर बनाउँछौँ

२०७९ कार्तिक २०, आईतबार १८:४४ बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न ५ वर्षमा १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् । 

भीमफेदी–९ बाघमारामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा तथा पिछडिएका वर्गलाई सुरक्षित आवास बनाइदिने बताएका हुन् ।  ‘आर्थिक अवस्था कमजोर भएकै कारण नाना, छाना र खानाबाट आम प्रदेशवासी बञ्चित हुनुपर्ने छैन । निर्वाचनपश्चात बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ । हामी ५ वर्षको अवधिमा १० हजार घर बनाउने योेजनमा छौं ।’ उनले भने । 

नेकपा एमाले सरकारमा छँदा पूर्वाधार विकासको कामलाई उपेक्षा गरे पनि गठबन्धनको सरकार आएसँगै १० महिनाको अवधिमा अरबौँ बजेट क्षेत्र नम्वर २ कै लागि विनियोजन गरिएको उनले बताए । उनले विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेको अवस्थामा गठबन्धनको सरकारले नेपालमा उत्पादित गाँजालाई औषधिका रुपमा विदेश निर्यात गर्ने र गाँजा ओसारपसारको केसमा परेकाहरुलाई विधेयक बनाएर जेलबाट निकाल्ने बताए ।

गठबन्धनको क्षेत्र नम्बर–२ प्रदेशसभा (क) की उम्मेदवार कुमारी मोक्तानले एमालेले आफ्नो प्रदेश र स्थानीय सरकार हुँदा विकासका कुनै काम गर्न नसकेको भन्दै गठबन्धनको प्रदेश सरकारले छोटो समयमा गाउँमा प्रयाप्त बजेट हालेको बताइन् । जनताको हरेक सुखदुखमा लोकतान्त्रिक बाम गठबन्धन साथमै रहने उनले प्रतिवद्धता जनाइन् ।  कांग्रेस भीमफेदी–९ का सभापति राजकुमार पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक माईकल रामचन्द्र अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य आत्माराम मोक्तान, कांग्रेस क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।