२०८० चैत्र १६, शुक्रबार    

मुख्यमन्त्रीका दाबेदार ३ निर्वाचित, १ पराजित

२०७९ मंसिर ११, आईतबार १७:१९ बजे

वाग्मती प्रदेशको मुख्यमन्त्रीका आकांक्षीमध्ये ३ जना विजयी हुँदा १ जना पराजित भएका छन् । मुख्यमन्त्री बन्ने योजनासहित चुनावी मैदानमा होमिएका कांग्रेसका इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण शर्मा खनाल विजयी भएका हुन् ।

एमालेबाट भावी मुख्यमन्त्रीको रूपमा हेरिएका प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ भने पराजित भएका हुन् ।

श्रेष्ठ राप्रपाका सुनिल केसीसँग पराजित भए । केसीले ६ हजार ५ सय ९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत मात्रै प्राप्त गरे । उनले चुनावी अभियानमा आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै मत मागेका थिए । हालको अवस्थामा सत्तारूढ गठबन्धनले प्रदेशसभाको नेतृत्व गर्ने प्रायः निश्चित देखिन्छ ।

यस्तो अवस्थामा वाग्मती प्रदेश कुन दलको नेतृत्वमा पर्छ, त्यो अन्तिम निर्वाचन परिणामपछि नै निष्कर्ष निस्कने विजयी नेताहरू बताउँछन् । कांग्रेसका बानियाँ मकवानपुर २ (२) बाट विजयी भएका हुन् । कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले एमालेका लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतान्तरले पराजित गरे ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका अर्का दाबेदार माओवादी नेता जम्मकट्टेल धादिङ १ (२) बाट विजयी भए । उनले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गरे । गत प्रदेशसभामा माओवादी संसदीय दलका नेताको भूमिका निर्वाह गरिसकेका जम्मकट्टेलले १९ हजार ९ सय ३ मत प्राप्त गर्दा भण्डारीको पक्षमा १२ हजार ४ सय ७८ मत मात्रै परेको थियो ।

चितवन–१ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा एकीकृत समाजावदीका नेता खनाल विजयी भए । सत्ता गठबन्धनका उम्मेदवार खनालले १५ हजार ५ सय ७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत ल्याएको चितवन–१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । आगामी सरकार निर्माणमा अहिलेकै गठबन्धन कायम रहेर एकीकृत समाजवादीको भागमा परे उनको नेतृत्वमा सरकार निर्माण हुने सम्भावना छ ।