प्रदेशसभाको दोस्रो कार्यकालमा दलहरूको अंकगणितमा फेरबदल भएको छ । गत प्रदेशसभाको तुलनामा यसपटक दलगत अवस्था र सांसद संख्यामा समेत परिवर्तन भएको हो । मंसिर ४ को आमनिर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत परिणाम सार्वजनिक भइसक्दा यसअघि प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वटा दल बाहिरिएका छन् भने एउटा नयाँ दलले प्रवेश पाएको छ ।
२०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट थ्रेस होल्ड कटाउँदै ३ सिटसहित प्रदेशसभामा उपस्थिति जनाएको विवेकशील साझा पार्टी यसपल्ट सदनमा देखिने छैन । एक मात्र सिट रहेको जनता समाजवादी पार्टी पनि यसपल्ट सदन बाहिरै रहने भएको छ । हाम्रो नेपाली पार्टीले भने प्रत्यक्षबाट एक र समानुपातिकतर्फबाट थ्रेस होल्ड कटाउँदै एक सिट सुरक्षित गरेको छ । उसको पहिलो पटक सदनमा प्रवेश हुन लागेको हो । यसअघि तेस्रो शक्ति (२१ सिट) का रूपमा रहेको कांग्रेस यसपटक सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्य हुनेछन् । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ ।
प्रदेशसभाको पहिलो कार्यकालमा वाग्मतीमा पहिलो दल बनेको एमाले अहिले २७ सिटसहित दोस्रो स्थानमा खुम्चिएको छ । उसले प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ । २०७४ को निर्वाचनमा एमालेले प्रत्यक्षबाटै ४२ क्षेत्रमा जित हात पारेको थियो । समानुपातिकसमेत गर्दा ५९ सांसदसहित उसले स्पष्ट बहुमत हात पारेको थियो । त्यतिबेला माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको एमालेले अभूतपूर्व नतिजा निकालेको थियो । तर, यसपल्ट पार्टी फुट र सत्ता गठबन्धनको प्रत्यक्ष असर एमालेलाई परेको देखिन्छ । माओवादी केन्द्र २१ सिटसहित यसपल्ट प्रदेशसभामा एक स्थान घटुवा भएको छ । उसले प्रत्यक्षबाट १४ र समानुपातिकबाट ७ सिट प्राप्त गरेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी दोस्रो दल (२२ सिट) बनेकामा अहिले तेस्रो स्थानमा छ । प्रत्यक्षतर्फ राम्रै नतिजा ल्याए पनि माओवादीले समानुपातिकतर्फ आफ्नो पकड गुमायो । जसको प्रत्यक्ष फाइदा एमालेलाई भएको देखिन्छ ।
माओवादीपछि राप्रपा छ । प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी राप्रपाका १३ सांसदले सदनमा स्थान बनाएका छन् । यसअघि राप्रपाबाट २ जना मात्रै समानुपातिकबाट चुनिएका थिए । यसपल्ट पार्टीको नेतृत्व परिवर्तन, हिन्दु राज्य र प्रदेश संरचना खारेजीलगायत चुनावी एजेन्डा तथा ठूला दलमाथिको वितृष्णाको फाइदा उसले उठाएको देखिन्छ ।
एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी कुल ७ सांसदसहित प्रदेशसभाको पाँचौं ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ एक क्षेत्र मात्रै जितेको नेमकिपाले समानुपातिकतर्फ २ सिट पक्का गरेको छ । योसहित उसको ३ सांसदसहित प्रदेशसभामा उपस्थिति रहने भएको छ । यसअघि नेमकिपाका २ जना प्रदेश सांसद थिए ।
११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुन्छन् । हालको सत्ता गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सरकार बनाउन सहजै बहुमत जुट्नेछ । सरकार बनाउन ५६ सांसदको समर्थन चाहिनेमा अहिले सत्ता गठबन्धनसँग ६५ सांसद छन् ।