२०८१ बैशाख २८, शुक्रबार    

वाग्मतीमा गठबन्धनले टुंग्याउनै सकेन भागबन्डा

२०७९ बैशाख ११, आईतबार १२:१८ बजे

वाग्मती प्रदेशको स्थानीय तहमा गठबन्धनले भागबन्डा टुंग्याउन सकेको छैन । तीन महानगर, एक उपमहानगर, ४२ नगर र ७३ गाउँपालिका रहेको बागमतीमा महानगर र उपमहानगर केन्द्रबाट टुंगो लगाए पनि प्रदेश तहबाट नगर र गाउँपालिकामा भागबन्डा टुंगिन नसकेको हो ।

शुक्रबार र शनिबार बसेको गठबन्धनको बैठकले दोलखाका सबै स्थानीय तहबाहेक बाँकी १२ जिल्लाका स्थानीय तहहरूको भागबन्डा गर्न सकेको छैन । शुक्रबार दोलखाको भागबन्डा टुंगिए पनि शनिबार रातिसम्म बाँकी १२ जिल्लाको तालमेलमा सहमति हुन नसकेको जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सोनामसिं स्याङ्तानले बताए । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, नुवाकोट, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ र रामेछापका नगर र गाउँपालिकाको भागबन्डामा सहमति हुन सकेको छैन । ‘शनिबार रातिसम्म १२ जिल्लाबारे तालमेलका लागि भागबन्डामा सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो,’ उनले भने, ‘प्याकेजमा छलफल हुँदा सहमति हुन सकेन, अब आइतबार जिल्लागत छलफल हुनेछ ।’

भागबन्डामा सहमति जुट्न नसके मित्रवत् प्रतिस्पर्धामा जाने र छुट्टाछुट्टै उम्मेदवार खडा गर्नेबारेसमेत छोटो छलफल भएको उनले बताए । गठबन्धनमा कांग्रेसले ५० प्रतिशतभन्दा बढी, माओवादी केन्द्रले ६० वटा स्थानीय तह, एकीकृत समाजवादीले ४० भन्दा बढी र जसपाले २० भन्दा बढी स्थानीय तहमा आफ्नो नेतृत्व माग गरेका छन् । दलहरूले बढी स्थानीय तह माग गर्दा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रबाट काठमाडौं, ललितपुर, भरतपुर महानगर र हेटौँडा उपमहानगरको प्रमुख, उपप्रमुखबारे छिनोफानो भइसकेको छ । काठमाडौं र ललितपुरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र हेटौँडामा एकीकृत समाजवादीले प्रमुख पाउने गरी तीन दिनअघि नै छिनोफानो भएको हो । हेटौँडामा एकीकृत समाजवादीले वर्तमान उपमेयर मीनाकुमारी लामालाई प्रमुखको उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको छ ।