२०८३ भाद्र १६, मंगलबार    

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम : उत्पादन र रोजगारीमा जोड

२०८१ जेठ १४, सोमबार १७:१९ बजे

वाग्मती प्रदेश सरकारले उत्पादन र रोजगारीलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार वाग्मती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले कृषि, औद्योगीकरण तथा सीप विकासमा जोड दिइएको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए ।

कृषि उत्पादन वृद्धिका लागि नीति निर्माण गर्ने, प्रांगारिक मल उत्पादन कारखाना स्थापना गर्ने, बन्द उद्योग सञ्चालन गर्ने, औद्योगिक ग्रामको स्थापना तथा सीप विकास तालिम सञ्चालन गर्ने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ ।

शर्माले युवा उद्यमशीलता विकासका लागि सीप वर्ष घोषणा गरी कार्यान्वयन गरिने जनाएका छन् । ‘कृषक सूचीकरण र वर्गीकरण गरी प्रोत्साहन गरिनेछ । कृषि उपजको बजार केन्द्रहरूको पूर्वाधार निर्माण र व्यवस्थापनको व्यवस्था गरिने छ’, शर्माले भने, 'प्रदेशस्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ ।' प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्गीय सरकारसाग समन्वय गरिने घोषणा गरे ।

प्रदेश सरकार, निजी क्षेत्र तथा दुध उत्पादक सहकारीको साझेदारीमा वाग्मती धुलो दुध कारखाना सञ्चालन गरिने छ । हेटौंडामा निर्माणाधीन थोक तरकारी बजार सञ्चालन गर्ने भएको छ । अभियानको रूपमा प्याज र लसुन खेती कार्यक्रम सञ्चालन गरिने नीति प्रदेशको छ । ‘एक निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना’ भन्ने नारा अगाडि बढाउँदै शर्माले यसका लागि स्थानीय तहसंग समन्वय गरिने बताए ।

‘एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम’ नीतिलाई समेत सरकारले प्राथमिकताका साथ अघि बढाइने जनाएको छ । छ अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकारले बन्द उद्योगहरू सञ्चालन गर्न व्यवस्था गर्ने जनाएको छ ।