२०८१ बैशाख १४, शुक्रबार    

एमालेका कारण हेटौंडाको नगरसभा प्रभावित

२०७९ असार १०, शुक्रबार १२:२१ बजे

नेकपा एमालेले निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ ।

विहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशन नगरसभामा बहुमत रहेको एमालेबाट निर्वाचित सदस्यहरुले उपस्थितिमा हस्ताक्षर नगर्दा अझै सुरु हुन सकेको छैन । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि उपस्थित रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन् । उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका छैनन् ।

एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको वैठकबाटै नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेकोभन्दै विरोध समेत गर्दै आएको थियो ।

कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् । बहुमत नगरसभा सदस्य बाहिर बसेपनि मेयर लामा र उपमेयर राजेश बानियाँ पनि बाहिरै बसिरहेका छन् । नगरसभा सञ्चालन गर्ने विषयमा आवश्यक छलफल समेत अगाडि बढ्न सकेको छैन ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बााडफााटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहोरीने गरी तयारी गरिएको बुझिएको छ । अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरीक स्रोतले जनाएको छ ।