२०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा राजश्व सङ्कलनमा गिरावट

२०८० बैशाख ९, शनिबार १६:१४ बजे

आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय मकवानपुरको राजश्व सङ्कलनमा गिरावट आएको छ । कार्यालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको हो ।

विगत वर्षहरूको तुलनामा मकवानपुरका विभिन्न व्यावसायिक प्रतिष्ठान र उद्योगहरूले दाखिला गर्दै आएको राजश्वमा गिरावट आएको आन्तरिक राजश्व कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले चालू आर्थिक २०७९/०८० को दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको आन्तरिक राजश्व कार्यालय हेटौँडाका सूचना अधिकारी अवधेशकुमार यादवले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्षका लागि राजश्व सङ्कलनको लक्ष्य ७ अर्ब ५० करोड निर्धारण गरेको थियो । कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न आर्थिक वर्षको अन्तिम चौमासिक अर्थात् (४ महिना भित्र) करिब ४ अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्नु पर्ने हुन्छ । उनका अनुसार कार्यालयले राजश्व सङ्कलनको लक्ष्य पुरा गर्न आगामी असार मसान्तसम्ममा ३ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गर्नुपर्ने हुन्छ ।

कार्यालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म ४ अर्ब ३५ करोड ९ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको भए पनि ९२.९४ प्रतिशत (४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ) सङ्कलन भएको सूचना अधिकारी यादवले बताए । उक्त समयावधिमा कार्यालयले लक्ष्य भन्दा ७ प्रतिशत बढीले राजश्व सङ्कलनमा गिरावट आएको उनको भनाई छ ।

कार्यालयले चालू आर्थिक वर्षको फागुन महिनामा मात्र ५२ करोड ८८ लाख ७१ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको भए पनि ५० करोड ६३ लाख ८७ हजार रुपैयाँ अर्थात् ९५.७५ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी यादवले बताए । कार्यालयले फागुन मसान्तमा मात्र लक्ष्य भन्दा ४ प्रतिशत भन्दा बढीले राजश्व सङ्कलनमा असफलता व्यहोरेको छ ।