२०८३ जेठ २०, बुधबार    

शतप्रतिशत जीतसहित अगाडि बढ्दै डाँफे र मल्टिभिजन

२०८१ भाद्र २५, मंगलबार १८:५९ बजे

मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता न्यू डाँफे क्लव र मल्टिभिजन युथ क्लबले यसवर्ष उत्कृष्ट खेल प्रस्तुत गरिरहेका छन् ।

४ वटा खेल खेलेको डाँफेले सत्प्रतिशत जितसहित १२ अंक जोडेको छ । समूह ख मा रहेको डाँफेसहित गोर्खाब्वाइजले पनि ४ वटै खेल जितिसकेको छ । मल्टिभिजनले पनि निरन्तर तीन खेलमा जित निकाल्दै ९ अंक जोडिसकेको छ ।

डाँफेले मंगलबार पिप्ले युवा क्लवलाई ३–२ गोलले हराएको छ । डाँफेका लागि सुसान्त तामाङ, किसन थापा मगर र राजिव डिम्डुङले गोल गरेका हुन् । पहिलो हाफमै २ गोलले पछि परेको पिप्लेले दोस्रो हाफमा सुधारिएको खेल प्रश्तुत गर्दै खेललाई बराबरीमा ल्याएको थियो । दोस्रो हाफको सुरुवातमै प्रविण श्रेष्ठ र सम्पूर्ण नगरकोटीले पिप्लेका लागि गोल गरेका थिए । ७० औं मिनेटमा डाँफेका लागि राजिव डिम्डुङले निर्णायक गोल गरेका हुन् ।
खेलको म्यान अफ द म्याच डाँफेका किसन थापा मगर घोषित भए । १८ गोल गरेको डाँफेले हालसम्म ३ गोल मात्र व्यहोरेको छ ।

मल्टिभिजनले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको हो । मल्टिभिजनका लागि जेनिस थपलियाले ह्याट्रिक गर्दा सुमन लो लामाले एक गोल गरेका हुन् ।

सिमलटार खेल मैदानमा भएको खेलमा न्यू कम्बाइन क्लव र एफसी नामटार विजयी भएको छ । कम्बाइनले सानोपोखरा क्लवलाई १–० ले हराएको हो । कम्बाइनका निशान न्यासुरले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच कम्बाइनका सुरज थिङ घोषित भए । अर्को खेलमा एफसी नामटारले हेटौंडाको ७ नम्बर फुटबल टिमलाई १–० ले हराएको हो ।

नामटारका लागि सविन गोलेले निर्णायक गोल गरे । गोले नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।