२०८२ जेठ ३, शुक्रबार    

पदमपोखरी र मनहरी ५ क्वाटरफाइनलमा

२०८१ कार्तिक २७, मंगलबार १९:०३ बजे

चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी ४ मसिने गोलघर खेलमैदानमा जारी दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा पदमपोखरी युनाइटेड र मनहरी ५ नम्बर वडा क्वाटरफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा पदमपोखरीले राप्तीरिभर युथ क्लवलाई टाइब्रेकरमा ५-३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको छिनोफानो गरिएको हो ।

पदमपोखरीका मैसाङ वाइबा, सुशिल गोले, बिमल लामा, प्रजेश मोक्तान र निर्मल घिसिङको प्रहार गोलमा परिणत हुँदा राप्तिरिभरका रमेश थिङ, उज्वल तिमल्सिना र सौरभ गोलेले मात्र गोल गरे । विवेक मगरको प्रहारलाई भने पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । गोलरक्षक थिङ नै खेलको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मनहरी ५ ले ऋषेश्वरी युवा क्लव मनहरी ४ लाई हरायो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत विजेताको टुंगो लगाइएको थियो । दुवै टिमले १०-१० प्रहार गर्दा मनहरी ५ ले ८ र ऋषेश्वरीले ७ गोल गोल गरेको थियो । २ वटा प्रहार बचाएका मनहरी ५ का गोलरक्षक अमित स्याङ्तान खेलको म्यान अफ द म्याच भए ।

जारी प्रतियोगितामा बुधबारबाट क्वाटरफाइनल चरणको खेल हुनेछ । यहि मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मकवानपुर गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।