२०८१ मंसिर २९, शनिबार    

पिप्ले युवा क्लबका अध्यक्ष घिमिरेद्वारा खेल सामग्री सहयोग

२०८१ असार १५, शनिबार १७:३० बजे

हेटौंडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले आफ्ना बुबा सुदर्शन घिमिरेको स्मृतिमा खेल सामग्री हस्तान्तरण गरेका छन् ।

पिप्ले युथ क्लबले सञ्चालन गरेको युथ फुटबल एकेडेमीका खेलाडीलाई जर्सीसहित खेल सामग्री शनिबार हस्तान्तरण गरिएको हो ।

पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सुशील घिमिरेको उपस्थितिमा ५० हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरिएको हो ।
घिमिरेले ३७ थान जर्सी सेट, फुटबल ८ थान, स्ल्यालोम पोल ६ थान, कोन मार्कर १०० थान, हर्डल्स १० थान हस्तान्तरण गरिएको छ । एकेडेमीमा १२ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोर खेलाडीहरु नियमित प्रशिक्षणमा छन् ।

पिप्ले युवा क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गरेर हरेक दिन बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा किशोर खेलाडीलाई पिप्ले–क्याम्पा रंगशालामा प्रशिक्षण गराउँदै आएको छ ।
निः शुल्करुपमा सञ्चालन गर्दै आएको एकेडेमीका अधिकांश किशोर खेलाडी ५ नम्बर वडाका छन् भने केही ४ नम्बर वडाका छन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले पालिकाको समग्र बजेट कम भए पनि खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए ।