२०८१ बैशाख ७, शुक्रबार    

लालपूर्जा माग्दै सडकै जामै गरेर ¥याली, नेतासँग आक्रोशित

२०८० जेठ १३, शनिबार १९:३७ बजे

मनहरी गाउँपालिकामा रहेको भूमिहीन तथा अब्यवस्थित बसोबासीहरुले जनस्तरबाट बृहत् प्रदर्शनी गरी सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तीन किलोमिटर दूरी सडक जाम गरेरै ¥याली निकालेका छन् भने लालपुर्जा दिलाउने प्रक्रिया नै रोक्न खोज्न पर्सा राष्ट्रिय निकुन्जलाई ऐन कानून ठूलो कि, जनताको माग ठूलो भन्दै चेतावनी दिएका छन् ।

मनहरीमा शनिबार दिउँसो ठूलो संख्याका भूमिहीनहरुले सरोकारवालालाई बोलाएर आफ्नो मागमा प्रतिबद्धता माग गरे भने माग पूरा नगर्ने भए मनहरी ‘भोट बैँक’ का लागि मात्रै होइन भन्ने सन्देश दिएका छन् ।

संघीय सांसद महेशकुमार बर्ताैला, बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सांसद इन्द्रबहादुर बानियाँ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, पूर्व सांसद ओमबहादुर ग्लान, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहितलाई साक्षी राखेर ‘भोट बैँक’ को रुपमा मात्र मनहरीलाई नलिन चेतावनी दिएका हुन् । यसरी जनस्तरबाट प्रश्न उठिरहँदा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका अध्यक्ष समेत रहनु भएका नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बीरबहादुर घलान ज्वाला लगाएत नेता पनि सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै भूमिहीनको तर्फबाट हरिचन्द्र शाही ठकुरीले संघीय सांसद, प्रदेशका मन्त्री र सांसद तथा स्थानीय सरकारलाई छुट्टा छुट्टै प्रश्न गर्नु भएको थियो । ‘तपाईहरु कानमा तेल हालेर बस्नु भएको हो कि ? काम पनि गर्नुहुन्छ ?’, शाहीले प्रश्न गरेका थिए–‘हरेक ठाउँमा राजनीति गर्नका लागि गठबन्धन गर्न मिल्छ भने लालपुर्जा प्रदान गर्न किन गठबन्धन गर्नुहुन्न ?’

अध्यक्षको आसनबाट बोल्दै भूमिहीन सुकुम्बासी अब्यवस्थित बस्ती संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले पर्सा राष्ट्रिय निकुन्जले अबरोध खडा गरेकाले अबरोध हटाएर तत्कालै लालपुर्जाको प्रक्रिया सुरु गर्नुपर्ने बताए । प्रमुुख अतिथि सांसद महेश कुमार बर्ताैलालले आफूले नवनियुक्त वन तथा वातावरण मन्त्रीलाई मध्यवर्तीका देशभरिका समस्या हल गर्नका लागि वार्ता गर्न समय मागेको र त्यसबेला संघर्ष समितिका प्रतिनिधिहरुलाई पनि लिएर भेट्न जाने प्रतिबद्धता जनाए ।
बागमती प्रदेश सरकारी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश भरकै समस्या समाधानका लागि सरकार सक्रिय रहेको बताए । बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले लालपुर्जा प्राप्त हुने ठोकुवा गर्दैैै जनस्तरबाट कुरा उठ्न अझै ढिला भएको टिप्पणी गरे । कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय भूमि आयोगका अध्यक्ष बिष्णुप्रसाद दाहाल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला लगायतले आन्दोलनप्रति प्रतिबद्धता ब्यक्त गरे ।

मनहरी ७ मनकामना मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम सुरु हुनुअघि रमन्टार र सिमपानीबाट छुट्टाछुटटै ¥यालीको आयोजना भएको थियो । ¥यालीमा सहभागी सयौँका संख्याका भूमिहीनहरुले लालपुर्जाको माग गर्दै भ्रष्टाचार विरुद्ध समेत नाराबाजी गरेका थिए । स्वतस्फूर्त रुपमा नागरिकको तहबाट आन्दोलन थालिएको र यसले निरन्तरता पाउने संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले बताए ।