२०६२÷६३ को जनआन्दोलनका सहिद बासुदेव घिमिरेको परिवारलाई सम्मान गर्दै रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको छ ।
बुधबार मकवानपुरगढी गाउँपालिका ५ स्थित सहिद घिमिरेको परिवारलाई भेटेर रेडियोले नगदसहित सम्मान गरेको हो । १५ वर्षअघि सहिद दिवसकै दिनबाट आफ्नो प्रशारण यात्रा आरम्भ गरेको रेडियोले बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि सहिदको विषयमा कविता, वक्तृत्वकला लगायतका प्रतियोगिता गर्दै आएकोमा यस वर्ष सहिदको परिवारलाई सम्मान गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए ।
घिमिरेको परिवारलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष दाहालले केही महिनाभित्रै वडा कार्यालय अगाडी घिमिरेको शालिक बनाउने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक रेडियोले आफ्नो बार्षिकोत्सवको अवसरमा सहिद परिवारलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै उनले सहिद परिवारलाई वडाका तर्फबाट सहयोग गर्न समेत तयार रहेको बताए ।
कार्यक्रममा मकवानपुरगढी ६ नम्बर वडा अध्यक्ष कृष्ण बजगाइँ, सहिद घिमिरेका पिता कृष्णप्रसाद, स्थानीय समाजसेवी बेदनाथ हुमागाइँ इन्द्रबहादुर बस्नेत लगायतको आतिथ्यता थियो । रेडियोले प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस वर्ष सहिद परिवार सम्मानसँगै खाद्यान्न हस्तान्तरण, सेनेटरी प्याड वितरण, निशुल्क स्वास्थ्य शिविर, मिडिया कप फुटसल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
रेडियो मकवानपुरले स्थापनाकाल देखि नै बार्षिकोत्सवको समयमा दुईजनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान समेत प्रदान गर्दै आएको छ ।