लामो समयदेखी भाडाको घरबाट सेवा दिँदै आएको मनहरी गाउँपालिकाको अब आफ्नै भवन बन्ने भएको छ ।
मनहरी गाउँपालिकाको निर्माण हुन लागेको भवनको आज शनिबार उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । मनहरीको रजैयामा रहेको कार्यालय भाडाको घरमा सन्चालित छ । ३ नम्बर वडास्थित लामिटारमा भने केही शाखा र सभाहल रहेको छ । पूर्वपश्चिम राजमार्गको छेवैमा रजैयाको तल्लोटोलमा पालिकाको भवन बन्न लागेको हो ।
तामाकोशी–ढाचा निर्माण सेवा जेभी बालाजु १६ काठमाडौले भवन निर्माणको ठेक्का पाएको हो । यहि असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत्र ३० गते निर्माण सम्पन्न हुनेछ । ३ तल्लाको निर्माण हुने भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपैयाँ ३९ पैसा रहनेछ । ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपा·मैत्री र नयाँ प्रविधियुक्त हुने मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
गाउँपालिका भवनको शिलान्यासको तयारी करिब पूरा भएको पालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । यो भवन निर्माण भएपश्चात पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक वचत समेत हुने उनको भनाई छ । ‘अहिले रजैयामा प्रशासनिक भवन छ, केही शाखा र सभाहल लामिटारमा छ यसले गर्दा कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई केही कठिनाई भैरहेको छ’, अध्यक्ष कालाखेतीले भने, ‘प्रशासनिक भवन बनेपछि सबै सेवा एकै ठाउँबाट उपलब्ध हुनुका साथै घरभाडा समेत जोगिनेछ ।’
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले पालिकाको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन पालिकाको राजनीति दल, जनप्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिसहित पालिकाबासीहरुलाई अनुरोध गरिन् ।