बागमती प्रदेश सभाको बैठक चार महिनापछि आज बसेको छ । गत असोजमा बसेको प्रदेश सभा बैठक चार महिनापछि आज अपराह्नमा बसेको हो ।
आजबाट प्रदेश सभाको पन्ध्रौ अधिवेशन बैठक सुरु भएको प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । सभामुख पाठकले बैठक सुरु भएलगतै प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न विधेयकको प्रमाणीकरण, मन्त्रिपरिषद् विस्तार लगायतको बारेमा जानकारी गराएका थिए ।
बैठकमा सभामुख पाठकले सभामुख र उपसभाख अपस्थित भएको अवस्थामा प्रदेश सभा बैठक संचालन गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनीत गरिएको जानकारी दिए । मनोनीत हुने सदस्यहरुमा क्रमशः उर्मिला नेपाल, भारती कुमारी पाठक, भुवन केसरी श्रेष्ठ, रमा आले मगर र लक्ष्मी घिमिरे रहेका छन् । सोही बैठकले उनीहरुको नाम सर्वसम्मत अनुमोदन गरेको सभामुख पाठकले घोषणा गरेका थिए ।