२०८१ बैशाख १४, शुक्रबार    

एमबाप्पेले रियल म्याड्रिडसँग सम्झौता गरिसकेको दावी

२०७९ जेठ ५, बिहीबार १२:२८ बजे

फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता गरिसकेको दावी बाहिरिएको छ ।

एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो । २२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै र त्यहाँ अर्को सिजन कहाँ खेल्छन् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

अहिलेसम्म एमबाप्पेले पीएसजी वा रियल म्याड्रिडमा जाने प्रतिवद्धता सार्वजनिक गर्न अस्वीकार गरेका छन् तर आइतवार राति लिग १ अवार्ड समारोहमा उनले आफ्नो भविष्यबारे छिट्टै घोषणा गरिने बताएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार फरवार्डले गत हप्ताको सुरुमा वार्ताका लागि म्याड्रिड भ्रमण गरेपछि २०२७ सम्मका लागि सम्झौता गर्दै स्पेनिस च्याम्पियन रियलमा हस्ताक्षर गर्नेछन् ।

मार्काको दाबी अनुसार सान्टियागो बर्नाबेउमा एमबाप्पेको तलब पीएसजीले उनलाई लिग १ मा रहन प्रस्ताव गरेको भन्दा कम रहेको छ । ‘म मेरो भविष्यको बारेमा भन्न सक्दिन तर तपाईले चाँडै थाहा पाउनुहुनेछ, यो लगभग तय भइसकेको छ,’ एमबाप्पे ले आइतबार राति भनेका थिए, ‘मैले निर्णय त लिइसकें, तर यो सही समय होइन ।’

एमबाप्पे अवार्ड समारोहमा लगातार तेस्रो वर्ष लिग वानको प्लेयर अफ द सिजन घोषित भए । एमबाप्पेले यो सिजन पिएसजीलाई लिग वानको च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका छन् । उनले यो सिजन लिग वानमा २५ गोलसँगै १७ असिस्ट दिएका छन् ।

एमबाप्पेको रियल म्याड्रिड जाने पुष्टि भएसँगै एक वर्षदेखि चलिरहेको ट्रान्सफर गाथाको अन्त्य हुनेछ । लस ब्लान्कोसले गत समरमा एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरे तर पीएसजीले १५४ मिलियन पाउण्डसम्मको प्रस्ताव अस्वीकार गरेको थियो ।