मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको सात बोरा कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्दा डिकी र छतमा लुकाएर ल्याएको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।
प्रहरीका अनुसार कुर्ता सुरुवाल ५८ पिस, साडी २ सय ९३ पिस र सेन्डो गन्जी ३ सय वटा फेला परेको हो । प्रहरीले बसको चालकसँग र बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा कोही कसैले मेरो हो भन्ने हक दाबी नगरेकोले कपडाहरु बेबारिसे भएको र भन्सार छलेर ल्याएकोहुँदा उक्त कपडाहरु नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।