हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले राजस्व चुहावट रोक्न आफूले अभियान सञ्चालन गरेका बताएका छन् । सवैभन्दा बढी राजस्व चुहावट हुने नदीजन्य पदार्थको विषयमा आफूले गम्भीरढंगले स्थलगत निरीक्षण र अभियान सञ्चालन गरिरहेको उनले बताएका छन् ।
उपमहानगरका योजना अनुगमन तथा राजस्व समितिका संयोजक समेत रहेका बानियाँले नगरक्षेत्रभित्र रहेका सवै क्रसर तथा बालुवा उद्योगको अनुगमन गरी त्यहाँ रहेको स्टक नाप्ने काम आफूले गरिरहेको बताए । ‘एकहप्ताभित्रमा स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेर सोही अनुसार अगाडि बढ्ने छौं ।’, उनले राजस्व चुहावट र यसक्षेत्रमा रहेको विकृति हटाउन जरुरी रहेको समेत औंल्याए ।
उनले प्रतिवन्धात्मक अवस्थामा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गरिरहेको अवस्थामा असार र साउन दुई महिनामा एक सय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । उनका अनुसार असारमा ९० वटा सवारी साधन र साउनमा ८५ वटा सवारी साधनले नदिजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गर्ने ट्याक्टरलाई पहिलो पटक ५ हजार रुपैयाँ जरिवाना गरेर नदिजन्य पदार्थ जफत गर्ने गरिएको छ भने दोस्रो पटकमा १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ । ट्रपरलाई पहिलो पटकमा १० हजार रुपैयाा र दोस्रो पटकदेखि २० हजार रुपैयााका दरले जरिवाना गर्ने गरिएको छ ।
नदिजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधनबाट दुई महिनामा ९ लाख ५५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ । असार, साउन र भदौ महिनामा नदिजन्य पदार्थ उत्खनन् गर्न रोक लगाउने गरिएको छ ।