मकवानपुर जिल्ला फुटबल संघ विवादमा मुछिएको छ । केही महिना अगाडि सम्पन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको हिसावकिताब सार्वजनिक गर्न नसकेर सर्वत्र आलोचित भएको संघ अहिले ‘गलत निर्णय’ गर्दा पुनः विवादमा तानिएको हो ।
संघको आयोजनामा भदौ १४ गतेबाट सुरु हुन लागेको जिल्लाको सन्दर्भमा खेल तालिकालाई लिएर सहभागी क्लबहरुले आपत्ति जनाइरहेको अवस्थामा आगामी वर्ष लिग खेल्ने तयारी गरिरहेको बकैया र पञ्चशील युथ क्लबले आन्दोलनको चेतावनी दिएका हुन् ।
संघको आयोजनामा केही महिना अगाडि भएको छनौट प्रतियोगितालाई पार गर्दै बकैया र पञ्चशील आगामी वर्षको जिल्ला लिगको लागि छनौट भएका थिए । तर, संघले उक्त छनौटलाई अहिले आएर ‘डि डिभजन’ छनौट भनेर दुईवटा क्लबलाई आगामी वर्ष ‘सी’ डिभिजन खेल्नुपर्ने भनेर निर्णय गरेपछि दुईवटा क्लबहरु आन्दोलित भएका हुन् ।
बकैयाका अध्यक्ष विजय लामा थिङ र पञ्चशीलका अध्यक्ष सुनिल लोप्चनले बुधबार संघमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल उक्त निर्णय सच्याउन माग गरेको छ । ‘हामीले यसवर्षको लिगमा सहभागी हुन पाएनौं । तर, आगामी वर्ष हामीलाई सी डिभिजन खेलाउने निर्णय तत्काल सच्याउन हामी माग गर्दछौं ।’, ध्यानाकर्षण पत्र जि ल्ला लिग अगाबै यस विषयमा निर्णय वा सहमति गर्न अनुरोध गरिएको छ । अन्यथा आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।
‘हाम्रो मागलाई बेवास्ता गरेमा हामी जिल्ला लिग प्रतियोगिता सञ्चालन अगाबै रोक्न बाध्य हुने र चरणबद्ध तरिकाको आन्दोलन गर्ने जानकारी गराउँछौं ।’, ध्यानाकर्षण पत्रमा क्लबहरु धेरैहुँदा लिग सञ्चालनमा कठिनाइ हुनेहुँदा आगामी वर्षबाट सहभागी हुन आफूहरु सहमत भएको दुबै क्लबको भनाइ छ ।
जिल्लाको लिगको खेल तालिका प्रकाशनको समयमा प्रतियोगिताको नियमावली, ए, वी, सी र डी डिभिजन क्लब तथा मताधिकारको विषय टुंग्याउन जरुरी रहेको क्लबका प्रतिनिधिले बताएपनि संघ अध्यक्ष टीकाराम लामाले त्यसलाई पूर्णरुपमा बेवास्ता गरेका थिए । ‘दुवै क्लबसँग मैले छलफल गरिसकें भनेर अध्यक्षले यस विषयमा हाम्लाई बोल्नै दिएनन् ।’, वैठकमा सहभागी एकजनाले भने ।
संघ अध्यक्ष एवम् केन्द्रीय सदस्य टीका लामाले दुवै क्लब सी डिभिजन खेल्न मानिसकेको प्रतिक्रिया दिएका छन् । ‘संघले निर्णय गरेको हो । उहाँहरु मानिसक्नु भयो ।’, उनले भने ।