२०८३ बैशाख १३, आईतबार    

एक हजार मोवाइल व्यवसायी हेटौंडामा भेलाहुँदै

२०८२ बैशाख १६, मंगलबार १८:०४ बजे

यही बैशाख २६ र २७ गते नेपाल मोबाइल व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ ।

चौथो केन्द्रीय साधारणसभाको विषयमा महासंघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । साधारणसभामा देशभरका ६० जिल्ला, ७ प्रदेश र महासंघ केन्द्रीय नेतृत्व गरी करिब एकहजार व्यवसायी सहभागी हुने साधारणसभाका संयोजक समेत रहेका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।

‘यस सभामा मोवाइल व्यापारमा देखिएका अवसर र चुनौतीको विषयमा केन्द्रीत हुनेछ । विशेषगरी मोवाइल विक्रीमा देखिएको अस्वभाविक प्रतिस्पर्धा र यसले व्यवसायमा पारेको असरलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा खुला र बन्द सत्रमा हामी छलफल गर्नेछौं’, आचार्यले भने, ‘साधारणसभाको तयारी करिब अन्तिम चरणमा पुगेको छ । यसका लागि विभिन्न ९ वटा उपसमिति बनाएका छौं । सबै उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको छ ।’

हेटौंडामा रहेको रोयल पार्टी प्यालेसमा हुने साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने जानकारी दिइएको छ । कार्यक्रमस्थल बाहिर विभिन्न १० वटा मोवाइल कम्पनीको स्टल रहने आचार्यले बताए । स्टलले आफ्नो कम्पनीको मोवाइलको विषयमा ग्राहकहरुलाई जानकारी गराउने र ग्राहकले प्रत्यक्ष फाइदा लिनसक्ने आयोजकले विश्वास लिएको छ ।

साधारणसभाको उद्घाटनको दिन वैशाख २६ गते विहान ७ बजे प्रभातफेरिको आयोजना गर्ने तयारी गरेको जानकारी दिइएको छ । साधारण सभाका लागि करिब २० लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । देशभर करिब २५ हजार मोबाइल व्यवसायी रहेका छन् भने मकवानपुरमा १६० व्यवसायी रहेको मोबाइल एसोसिएसन अफ मकवानपुरले जनाएको छ ।

पत्रकार सम्मेलनमा एसोसिएसन मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाईं, पूर्व अध्यक्ष दिनेश लामा, मकवानपुर जिल्ला अध्यक्ष हरिप्रसाद न्यौपाने सागर, महासंघ बागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहनबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।