२०८१ बैशाख १३, बिहीबार    

निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै प्रदेशसभा सदस्यको सपथ

२०७९ मंसिर २७, मंगलबार ०८:४४ बजे

वाग्मती प्रदेशसभा सचिवालयले संसद्को नयाँ अधिवेशन गर्न आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ ।

नवनिर्वाचित सांसदहरूको स्वागत, शपथ ग्रहण, सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका तथा प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गर्नेबारे सचिवालयले सबै तयारी सकेको हो । कर्मचारी अभाव रहे पनि प्रदेशसभा भवनको रङरोगन तथा मर्मत, संसदीय समिति, दलको कार्यालय, चमेना गृह, मिडिया सेन्टरको स्थापना तथा सुरक्षाकर्मीको ब्यारेक व्यवस्थापनको काम सकिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

‘निर्वाचन आयोगले पुस २ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेशसभातर्फको निर्वाचनको अन्तिम परिणाम बुझाउने कार्यतालिका छ, त्यसअघि नै अधिवेशनसम्बन्धी छिटपुट काम पनि पूरा गर्नेछौं,’ उनले भने, ‘आयोगले अन्तिम परिणाम औपचारिक रूपमा सचिवालयलाई हस्तान्तरण गरेपछि सांसदको शपथ ग्रहण, प्रदेशसभा बैठक र नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।’

आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाएको मितिदेखि २० दिनभित्रै प्रदेशसभा बैठक राख्नुपर्ने कानुनी व्यवस्था छ । ‘प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सदस्यको शपथ ग्रहण प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराउने प्रक्रिया रहन्छ,’ उनले भने । ज्येष्ठ सदस्यको अध्यक्षतामै प्रदेशसभाको पहिलो बैठक बस्नेछ । त्यसपछि सभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ ।

‘सभामुख छनोटपश्चात् उपसभामुख छनोट प्रक्रिया भने सदनकै कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ,’ उनले भने । प्रदेशसभाको पहिलो बैठकअघि सर्वदलीय बैठक राखेर आवश्यक परामर्श र छलफल गरिने उनले स्पष्ट पारे ।