२०८३ बैशाख ५, शनिबार    

बकैयामा कांग्रेसको भेला, सदस्यता नवीकरण मुख्य विषय

२०८१ जेठ ४, शुक्रबार १८:४६ बजे

नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नवीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको अध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यतामा क्रियाशिल नविकरण, योजना कार्यान्वयन, पार्टीको सांगठनिक अवस्था, बजेटलगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बागमती प्रदेश सभापति बानियाँले बकैया क्षेत्रमा भएका विकास निर्माण सन्तोषजनक भएको र जनप्रतिनिधिहरूलाई जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी आगामी बजेट निर्माण गर्दै निष्ठाका साथ कार्य गर्न निर्देशन दिए ।

अन्तरक्रिया कार्यक्रममा मकवानपुरको पूर्वी क्षेत्रमा भएका योजना कार्यान्वयनको अवस्था, बजेटको स्थिति र सङ्गठन सुदृढीकरण र कांग्रेसको भावी रणनीतिलगायतका विषयमा वडा सभापतिहरु, जनप्रतिनिधि र अगुवा कार्यकर्ताबीच छलफल भएको थियो।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, उपसभापति धर्मराज लामिछाने, जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, बागमती प्रदेश सदस्यहरु जानकी लामा, रामशरण माझी, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाल, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, नेपाल किसान संघका जिल्ला अध्यक्ष सोमप्रसाद तिमल्सिना, नेता मिठाराम दाहाल, वडा सभापतिहरु, कांग्रेसबाट जितेका जनप्रतिनिधिहरु, अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।