२०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा अतिक्रमण गरी बनाइएको संरचना भत्काउन सुरु

२०८० बैशाख २१, बिहीबार १०:४१ बजे

हेटौंडा उपमहानगरपालिकाले मुख्य बजारमा सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काउन सुरु गरेको छ । बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायीरुपमा घरसँगै जोडेर निर्माण गरेको टपहरु भत्काउन सुरु गरिएको हो ।

उपमहानगरका अहिले त्रिभुवन राजपथको चौकीटोल ओरालादेखि पूर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडिसम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थायी टप निकाल्ने काम नगर प्रहरीले गरिरहेको छ ।

२५ मिटर सडक विस्तारको तयारीको रुपमा बुझ्न उपमहानगरपालिकाकी मेयर मीनाकुमार लामाले आग्रह गरेकी छिन् । उनका अनुसार हरित र सुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको विस्तार नहुँदा बजारको स्वरुप थप बिग्रँदै गएकोले उपमहानगरले सडक विस्तारको पहिलो चरण थालेको हो ।

उनले भनिन्, 'अब २५ मिटर सडक विस्तारको कामले गति लिल्छ भन्ने बुझ्न जरुरी छ ।’ उनले २५ मिटर क्षेत्रमा रहेका व्यवसायीले आफ्नो व्यावसायिक ठाउँको व्यवस्थापनमा ध्यान दिन सुझाव दिएकी छन् ।

व्यवसायीले आफ्नो व्यवसायको प्रवर्द्धनका लागि घरभन्दा बाहिर थपेको ‘अस्थायी टप’ उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम चलिरहँदा यो अभियान २५ मिटरको पहिलो स्वरुप भएको उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाले बताए ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभुवन राजपथ र पूर्व-पश्चिम राजमार्गको हेटौंडा अस्पतालसम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थायी टपहरु हटाइसकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घरभन्दा बाहिर निकालिएको अस्थायी टप हटाउने भएको छ । अस्वाभाविक ढंगबाट फुटपाथ क्षेत्रलाई कब्जा गरी निर्माण गरिएको अस्थायी टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।