२०८० चैत्र १५, बिहीबार    

एनएसएलपछि सहिद स्मारक लिग हुने

२०७९ श्रावण २७, शुक्रबार ०८:४३ बजे

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) को मिति तोकेको छ ।

एन्फा कार्यसमितिको बिहीबार भएको बैठकपछि महासचिव किरण राईले भने, ‘ए डिभिजन लिग पुस ८ देखि चैत ४ सम्म आयोजना गर्ने निर्णय गरेका छौं । यसलाई विशेष साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनको प्रक्रियामा जानेछौं । ‘बी र ‘सी’ डिभिजन लिगको मिति साधारणसभामै प्रस्ताव गरिनेछ । राष्ट्रिय लिगसहित वार्षिक क्यालेन्डरकै बारोमा छलफल भयो तर निर्णय भएको छैन । एनएसएल आयोजनाका लागि पनि मिति तोकिदिएका छौं ।’ कतारमा विश्वकप फुटबल सकिएको एक साताभित्रै नेपालको मुख्य प्रतियोगिताको मिति तोकिएको हो । विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय भएको छ । त्यसमा कार्यसमितिका दुई सदस्यका निम्ति निर्वाचन हुनेछ ।

दुईपल्ट स्थगित भएर सम्भव भएको नयाँ कार्यसमितिको दोस्रो बैठकपछि सार्वजनिक गरिएको १९ बुँदे निर्णयमा ए डिभिजन लिग समावेश छैन । ‘प्रेस विज्ञप्तिमा ‘ए’ डिभिजन लिग छुटेको हो, जसको मिति तोक्ने निर्णय भइसक्यो,’ महासचिव राईले भने । बैठकले सी डिभिजन लिगको

छनोट असोज १ देखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गर्‍यो ।’

एन्फाले चौधरी ग्रुप निकट कम्पनी नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) लाई सञ्चालन गर्न दिइएको एनएसएलको सम्झौता त्रुटिपूर्ण भएको ठहर गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोकत्वमा सात सदस्यीय समिति बनाएर सम्झौता नवीकरण गरी असोज २३ देखि मंसिर २ सम्म सन्चालन गर्नका लागि समय उपलब्ध गराउने निर्णय गरेको हो ।

गत चैतमा आयोजना गर्ने मिति तोकेर पनि एनएसईएमले खेलाडीको सम्झौतालाई लिएर ‘ए’ डिभिजन क्लबहरूसँगको सम्बन्ध चिसिएपछि फ्रेन्चाइज टिमको प्रतियोगिता दोस्रो संस्करण सञ्चालन गर्न सकेको थिएन । पटकपटक मिति तोकेर पनि एनएसएल स्थगित गरिएको थियो ।

बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा महिला साफ च्याम्पियनसिपका लागि गठन गरिएको मूल आयोजक कमिटीलाई अनुमोदन गर्‍यो । तीन वर्षअघि विराटनगरमा भारतले उपाधि रक्षा गरेपछि पहिलोपल्ट आयोजना हुन लागेको च्याम्पियनसिप भदौ २१ देख असोज ३ सम्म काठमाडौंमा हुनेछ । साथै, राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा र टिम व्यवस्थापकमा विन्द्रा देवानको नियुक्तिलाई पनि अनुमोदन गरेको छ । उक्त साफ च्याम्पियनसिपपछि विराटनगरमा राष्ट्रिय महिला लिगको दोस्रो चरण सञ्चालन गर्ने र ललित स्मृति यू–१८ प्रतियोगिता २०८० जेठ–असारमा आयोजना गर्ने निर्णय भएको छ ।