२०८१ बैशाख १६, आईतबार    

परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

२०८० आश्विन २५, बिहीबार १९:१० बजे

जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम युवा क्लव नेवारपानीलाई ३–२ गोलले हराएको हो । परेलीको तर्फबाट प्रताप भट्टले २ तथा आशिष थिङले १ गोल गर्दा सक्षमको तर्फबाट निर्मल लामाले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका प्रताप भट्ट घोषित भए ।

दिउँसोको खेलमा केदारेश्वर युवा क्लव रजैयाले सूर्यकिरण युवा क्लव मनहरी ५ लाई ३–० ले हराएको हो । रजैयाको तर्फबाट दीपक कार्की, निरन्जन अधिकारी र विश्वास ब्लोनले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच रजैयाका विश्वास ब्लोन घोषित भए । बिहीबारको अन्तिम खेलमा सयपत्री युवा क्लव सुनाचुरीले कालिका एफसी राक्सिराङलाई २–० ले हराएको हो । सुनाचुरीका लागि बिराज बल र सुदिप घलानले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सयपत्रीका रबिन मोक्तान घोषित भए ।

जारी प्रतियोगितामा शुक्रबार आयोजक जेसीआई चैनपुरले जनसिद्ध युवा क्लवसँग खेल्नेछ भने दोस्रो खेलमा एफसी लामिटारले हाँडीखोला एफसीसँग खेल्नेछ । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।