२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा १ र १५ नम्बर विजयी

२०८० चैत्र २७, मंगलबार १८:४४ बजे

मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत् मंगलबार भएको खेलमा हेटौंडा वडा नम्बर १ र १५ विजयी भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा हेटौंडा १५ ले २ नम्बर वडामाथि ५–० गोलअन्तरलको फराकिलो जित दर्ता गराएको थियो ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमा १ नम्बर वडा ५–४ गोलअन्तरमा विजयी भएको हो । खेलमा १ नम्बर वडाका विश्व लामा म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट विशेष उपहार प्राप्त गरे ।

यसैगरी, हेटौंडा नम्बर वडाको १५ को तर्फबाट रिकेश श्रेष्ठले खेलको २० र ४८ औं मिनेटमा, विश्वास ब्लोनले २८ र ३५ औं मिनेटमा तथा अनिष लामाले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए । खेलमा विश्वास ब्लोन म्यान अफ दी म्याच घोषित भए । उनलाई केल्मी शोरुम हेटौंडाले विशेष उपहार प्रदान गरेको थियो ।

हेटौंडामा जारी यस प्रतियोगितामा उपमहानगरभित्रका १९ वटा वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।