२०८१ बैशाख ८, शनिबार    

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

२०७९ माघ १०, मंगलबार ०९:२८ बजे

नेपाल खेलकुद पत्रकार मञ्चले एएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुन २३ मा आयोजना गर्ने घोषणा गरेको छ । 

मञ्चले हरेक वर्ष गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड यस वर्ष ढिलोगरी आयोजना गर्न लागेको हो । नेपाली खेलाडीले अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा यो अवार्ड प्रदान गरिँदै आएको छ । २०६० सालदेखि स्पोर्ट्स अवार्डले निरन्तरता पाएको हो । २०५२ सालमा स्थापना भएको मञ्चले सुरुका वर्ष पनि अवार्ड आयोजना गरेको थियो ।

कमलादीस्थित प्रज्ञाभवनमा हुने अवार्डमा २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने मञ्चले जनाएको छ ।

उक्त अवार्डका लागि मुख्य प्रायोजकको रूपमा रहेको हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग मञ्चले सम्झौता नवीकरण गरेको छ । पल्सरसँग यो १४ औं वर्ष अवार्डका लागि सहकार्य भएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्दका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले प्रायोजना सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ देशको पहिचान राख्ने खेलकुद उत्तम माध्यम भएकाले यसै क्षेत्रमा नै योगदान गरेका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए । उनले युवाका लागि खेलकुद र पल्सर एकअर्काको परिपूरक जस्तै भएको स्मरण गराए ।

यसपालि पल्सर स्पोर्ट्स अवार्डमा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकसहित पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवा विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अरू विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।

स्पोर्ट्स अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र अर्को साता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने अध्यक्ष सुवेदीले बताए ।