२०८० चैत्र १६, शुक्रबार    

भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

२०८० जेठ १३, शनिबार २०:३२ बजे

भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित ग¥यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।

महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।

मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो ।