२०८१ बैशाख २०, बिहीबार    

च्याम्पियन बन्न फ्रान्स र अर्जेन्टिना भिड्दै

२०७९ पौष ३, आईतबार ०९:२५ बजे

फिफा विश्वकप कतार २०२२ को फाइनलमा आज (आइतबार) राति साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि लुसेल आइकोनिक रंगशालमा हुनेछ । अर्जेन्टिना र फ्रान्स आइतबार राति उपाधिका लागि आमाने–सामाने हुँदा दुवै टोली तेस्रो पल्ट विश्वको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

यो खेलमा सबैको ध्यान विश्व फुटबलका सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेमा नै हुनेछ । दुवै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यवसायिक खेल खेल्छन् ।

एमबाप्पे प्रेरित फ्रान्स लगातार दोस्रोपल्ट तथा समग्रमा चौथोपटक विश्वकपको फाइनलमा पुगेको टोली हो । फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन र २००६ मा उपविजेता बनेको थियो । साविकको उपविजेता फ्रान्स यसपटक पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्दै तेस्रो पटक च्याम्पियन बन्ने अभियानमा हुनेछ । एमबाप्पे ५ गाेलसहित गाेल्डेन बुटकाे दाैडमा पनि रहेकाे छ ।

लगातार दुई संस्करणको फाइनलमा पुग्ने टोलीमा थपिएको फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनैपनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । यसपल्ट फ्रान्सलाई त्यो अवसर छ । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि सन् १९३४ र १९३८ मा इटाली, १९५८ र १९६२ मा ब्राजिल, १९७४ र १९७८ मा नेदरल्यान्ड्स, १९८६ र १९९० मा अर्जेन्टिनाले लगातार दुईपटक फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै १९८२, १९८६ र १९९० मा जर्मनीले तथा १९९४, १९९८ र २००२ मा ब्राजिलले लगातार तीनपटक फाइनल खेलेको छ ।

अर्जेन्टिनासँग फाइनल खेल्दा फ्रान्सलाई स्वास्थ्यको चिन्ता थपिएको छ । फाइनल खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो ।

तर प्रशिक्षक डिडियर डेसच्याम्प्सले टोलीलाई पुनः एकपटक फाइनलको यात्रा तय गराएका छन् । पछिल्लोपटक उपाधि जित्दा मुख्य भूमिका निर्वाह गरेका एङ्गोलो कान्टे र पल पोग्बा टोलीमा नपर्दै घाइते भए । क्लब फुटबलमा उच्च प्रदर्शन गरिरहेका वेस्ली फोफाना, प्रेस्नेल किम्पेम्बे, माइक माइग्नन र क्रिस्टोफर एनकुन्कु पनि चोट लागेपछि विश्वकपबाट बाहिरिए ।

कतार आएपछि फरवार्ड करिम बेन्जेमाले चोट बोकेपछि फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने सम्भावना कमैले देखेका थिए । तर टोली लगातार जित हासिल गर्दै अघि बढ्यो । फ्रान्स अघि बढ्दै गर्दा चोटले पूर्ण रुपमा छोडेन । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएपछि टोलीमा स्वास्थ्य समस्या देखियो । सामान्य भाइरसले आक्रमण भनिएको रोगले सेमिफाइनलमा दुई खेलाडी अनुपस्थित रहे ।

मिडफिल्डर एड्रिएन राविओट र डिफेन्डर डायोट उपामेकानो सुरुवाती रोजाइमा खेलिरहेका थिए । तर सेमिफाइनलमा उनीहरु उपस्थित थिएनन् । सामान्य रुघा खोकी भनिएको यस भाइरसले खेलाडीलाई कतिसम्म असर गर्छ फ्रान्सले खुलाएको छैन । तर सेमिफाइनल गुमाएका दुई खेलाडी प्रशिक्षणमा फर्कनुले टोलीलाई सुखद सम्भावना भने देखाएको छ ।

बिहीबारको प्रशिक्षणमा विंगर किंग्सले कोमानलाई पनि उक्त भाइरसले समात्यो । शुक्रबार प्रशिक्षणमा टोलीका दुई मुख्य डिफेन्डर राफाएल भरान र इब्राहिमा कोनाटे पनि अनुपस्थित रहे । फ्रान्सले यी सबै खेलाडीलाई रोगले समातेको जनाएको छ । शुक्रबारको प्रशिक्षणमा राबिओट र उपामेकानो ठिक भएर फर्केका छन् ।

तर लेफ्ट ब्याक थियो हर्नान्डेज र मिडफिल्डर औरेलिएन चुआमेनी भने सामान्य चोटका कारण विश्राममा थिए । शनिबार उनीहरु प्रशिक्षणमा फर्कने सम्भावना छ । हालसम्म फ्रान्सले कुनैपनि खेलाडी फाइनलमा अनुपस्थित हुने पक्का गरेको छैन । भारान र कोनाटेको अवस्थालाई लिएर सर्वत्र चासो छ । सेमिफाइनलमा सेन्टर डिफेन्स सम्हालेका यी दुई खेलाडीको अनुपस्थितिले फ्रान्सलाई फाइनलमा निकै कठिन हुनेछ ।

यता, पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । कप्तान लियोनल मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि अर्जेन्टिना र मेस्सीका लागि यो फाइनल खेल धेरै अर्थपूर्ण छ । अर्जेन्टिनाको यो पाँचौं फाइनल हुनेछ । यता, दुईपटक (सन् १९७८ र १९८६) को च्याम्पियन अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पु¥याएका कप्तान मेस्सीलाई यो अन्तिम मौका पनि हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएमा सबैभन्दा सफल खेलाडी बन्नेछन् । फुटबलमा मेस्सीले जित्न नसकेको एक मात्रै उपाधि यही विश्वकप नै हो ।

३५ वर्षीय मेस्सी जसरी भए पनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएरै खेल जीवनबाट विश्राम लिने तयारीमा छन् । उनले यस विश्वकपको फाइनल नै आफ्नो अन्तिम विश्वकप रहेको बताइसकेका छन् ।

उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा कप्तान मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाउनेछन् ।

विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा रहनेछ । यसअघि जर्मनीका म्याथ्युले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए । अब फ्रान्सविरुद्धको खेलसँगै उनले कुल २६ खेल पु¥याएर कीर्तिमान बनाउनेछन् ।

हेड टु हेड
विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथोपटक भेट हुनेछ । यसअघि यि दुई टोलीले विश्वकपको समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको छ । सन् १९३० मा भएको विश्वकपको समूह चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । त्यसपछि १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमै २–१ को जित निकालेको थियो । चार वर्षअघिको विश्वकपमा फ्रान्सले प्रि–क्वाटरफाइनलमा ४–३ को जित निकालेको थियो । यि दुई टोली हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।