२०८१ बैशाख १७, सोमबार    

माघ १६ बाट हेटौंडामा अन्तर्राष्ट्रिय गोल्डकप

२०८० माघ ५, शुक्रबार १७:४३ बजे

स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघको दोस्रो साताबाट हुने भएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना हुने प्रतियोगिता माघ १६ गतेबाट २७ गतेसम्म सञ्चालन हुने भएको हो । यसवर्ष प्रतियोगितामा आयोजकसहित आठवटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघ अध्यक्ष टिकाराम लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको वाग्मती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजकले रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको छ ।

हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शराम स्मृति प्रतिष्ठानले गरेको लामाले बताए ।

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दशहजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको यस संस्करणको आयोजनाका जिम्मेवारी हेटौंडा–१५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् । डाँफे क्लबका अध्यक्ष आलोक स्याङ्तानका अनुसार प्रतियोगिताका लागि मैदानको स्तरोन्नति गर्ने कार्य तीब्ररुपमा अगाडि बढिरहेको छ ।

‘अब विस्तारै हेटौंडामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हामीले गौरीटारमै गर्नुपर्छ भनेर जिम्मेवारी बहन गरेका हौं ।’, उनले गौरीटारमा निर्माणाधिन अवस्थामा रहेको प्याराफिटमै बसेर प्रतियोगिता हेर्न सकिने बताए ।