वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत् शुक्रबार सभापति पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।
प्रदेश सभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।
समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका छ ।
प्रदेश सभाअन्तर्गत्का प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन हुन लागेको हो ।
जसअन्तर्गत् प्रदेश मामिला समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।