२०८१ बैशाख २३, आईतबार    

मैले माफि मागेको होइन, खेल्ने काम भयो : भीमसेन महत

२०७८ चैत्र १४, सोमबार ०८:३० बजे

नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले आफूमाथि पूर्वाग्राही राखेर खेल्ने काम भएको बताएका छन् ।

शनिबार हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको वैठकमा सभापति बुद्ध लामाले आफूनिकट १० जनालाई जिल्ला सदस्यमा मनोमानी गरेको विज्ञप्तिमा आफूले हस्ताक्षर गरेको विषयमा झुट प्रचार गरिएको दावी गरेका छन् । विज्ञप्तिमा हस्ताक्षर गरेको विषयमा विभिन्न मिडियामा सचिव महतले माफी मागेको भनेर भ्रम फैलाउने काम भएको उनको भनाइ छ ।

‘संस्थापन इतर पक्षको वैठक बसेको हो । सदस्य मनोनित भएको विषयमा मैले हस्ताक्षर गरेको विषयमा उठान भएको थियो । विधानको व्यवसथा अनुसार एकल अधिकारबाट १० जना मनोनित सभापतिबाट भएको हो । यो अधिकार सभापतिमा रहन्छ पनि ।’, सचिव महतले भने,‘म संस्थापन इतरबाट जितेको नाताले सहि नगर्दे हुन्थ्यो भन्ने साथीहरुको आम धारणा रहेको थियो । मैले हस्ताक्षर नगरेपनि सभापतिले गरेको भए हुने विषय थियो । तर, पनि मैले आफू सचिव भएको कारणले हस्ताक्षर गरें । तर मैल माफि मागेको होइन ।’

उनले आफूमाथि साथीहरुले खेल्न काम गरेको बताए । ‘विधान अनुसार मैले हस्ताक्षर गरेको हो । निर्वाचन जितेपछि संस्थापन इतर र तितरको कुरा हुँदैन । अब म नेपाली कांग्रेसको सचिव हो ।’, महतले भने । जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढिरहेको छ । गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसंगै कांग्रेसभित्र विवाद बढेको हो ।