२०८१ बैशाख २७, बिहीबार    

गढीका किसानलाई क्रेडिट कार्डमार्फत् ऋण

२०७८ माघ २४, सोमबार ०८:२२ बजे

हेटौंडा/ मकवानपुरगढी गाउँपालिकाले साना र सीमान्तकृत किसानमा वित्तिय पहुँचको विस्तार गर्न क्रेडिट कार्डमार्फत् ऋण प्रवाह गरिरहेको छ ।

चालु आर्थिक वर्षमा करिव २ सय किसानलाई प्रतिकिसान दुईलाख रुपैयाँको दर सस्तो व्याजदरमा क्रेडिट कार्डमार्फत् गाउँपालिकाले विना धितो ऋण प्रवाह गर्ने तयारी अगाडि बढाएको छ । पालिकाले नेपाल बङ्गलादेश बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिसँगको सहकार्यमा यस कार्य अगाडि बढाएको हो ।

      ‘हामीले बैंकसँग सहकार्य गरेर काम गरिरहेका छौं । हामीले आवश्यक कागजात र किसानलाई सहजीकरण गर्नेछौं ।’, गाउँपालिका कृषि शाखा प्रमुख अधिकृत चन्द्रकान्त चौधरीका अनुसार चालु आवको हालसम्म ५१ जनाले ऋण लिइसकेका छन् ।

 उनका अनुसार सहकारीमार्फत् वैंकले किसानहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ । ‘जुन कार्यका लागि ऋण लिइएको हो । त्यही काम भएको अनुगमनपछि मात्र ऋण प्रवाह हुन्छ । अन्यथा हुँदैन ।’, उनका अनुसार हालसम्म मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–३, मक्राञ्चुलीमार्फत् ३३ जना किसान, वन तथा काष्टजन्य विविधिकरण सहकारी संस्था मकवानपुरगढी–५ मार्फत १० जना र जनप्रगतिशील दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–७, सुकौरा मार्फत ८ जना गरी जम्मा ५१ जना कृषकहरुलाई किसान कृषि लोन कार्ड मार्फत १ करोड २ लाख लगानी भइसकेको छ ।

‘थप ६५ जना किसानहरुको फाइल बैंकमा लगानीको प्रक्रियामा रहेको छ ।’, चौधरीका अनुसार गतअसार २६ गते लागनीको सुरुवात गरिएको हो ।

      गाउँमा अधिकांश परिवार कृषि पेशामा संलग्न रहेको साना कृषक परिवारसम्म वित्तिय पहुँच नभएको र पुँजी अभावका कारण व्यवसाय शुरुवात गर्न नसकिरहेको अवस्थामा साना कृषक परिवारलाई लक्षित गरेर यस कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । ‘व्यवसाय शुरुवात गर्न र शुरुवात गरिसकेकाहरुको लागि व्यवसाय विस्तार गर्न ठूलो टेवा पुग्न गरी यो योजना ल्याइएको हो ।’, उनले भने ।