२०८१ बैशाख ८, शनिबार    

औद्योगिक जग्गामा भाडा नबढाउन मन्त्रीलाई उद्योगीको दबाब

२०७९ श्रावण १२, बिहीबार १४:४२ बजे

हेटौंडा औद्योगिक क्षेत्रभित्र जग्गाको भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न उद्योगीहरुले दबाब सुरु गरेका छन् । उद्योग संघ मकवानपुरले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई हेटौंडामा ज्ञापनपत्र बुझाउँदै बढेको भाडादर लागू नगर्न आग्रह गरेको हो । संघ अध्यक्ष स्वागतराज प्याकुरेलले मन्त्री बडूलाई नयाँ भाडा दर लागू भए आफूहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।

‘२०७५ सालमा पनि विभिन्न उद्योग संघहरु र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न निर्देशन दिनुभएको थियो’ प्याकुरेलले भने ‘अहिले पनि बढेको भाडा तिर्नसक्ने अवस्था छैन । त्यसकारण फिर्ता लिन हामी अनुरोध गर्दछौं ।’

कोरोना महामारीका कारण थला परेका उद्योगहरु तंग्रिन खोजिरहेको समयमा उद्योगीलाई भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको उनले बताए । तरलता अभाव र महँगीले उद्योगहरु धरासयी हुने स्थितिमा पुगेको उनको भनाइ छ । संघले भाडा वृद्धि आवश्यक नभएको तथ्यांकसहित तत्काल भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको छ । मन्त्री बडूले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र बुझेर निर्णय गर्ने बताए ।

औद्योगिक क्षेत्रको जग्गामा गरिएको भाडा वृद्धि हेटौंडामा चार वर्षपछि लागू भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयले २०७५ साउन १ गते वृद्धि गरेको भाडादर हेटौंडामा चालु आर्थिक वर्षबाट लागू भएको हो । केन्द्रले चार वर्षअगाडि तोकिएको भाडादर लागू गर्न औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्र हेटौंडालाई पत्राचार गरेसँगै उद्योगलाई नयाँ भाडा दरबारे पत्राचार भएको हो ।

यसअघि १ रोपनी जग्गाको औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले प्रतिवर्ष ८ हजार ३ सय रुपैयाँ भाडा तिर्दै आएका थिए । २०७५ साउन १ गते प्रतिरोपनी प्रतिवर्ष पाँच प्रतिशत वृद्धि गर्ने गरी १६ हजार २ सय रुपैयाँ नयाँ भाडादर कायम गरिएको थियो । अब हेटौंडा उद्योगभित्रका उद्योगले प्रतिरोपनी १९ हजार ७ सय ९१ रुपैयाँ तिर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख भोजराज विनाडीले जानकारी दिए । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावलीमा प्रति पाँच वर्षमा जग्गा भाडा पुनरावलोकन गर्ने व्यवस्था समेत रहेको उनले बताए । ३२ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा २६ सय रोपनी जग्गा भाडामा रहेको छ ।