२०८० चैत्र १६, शुक्रबार    

‘औद्योगिक उत्पादन विक्रीमा ७० प्रतिशत गिरावट’

२०७९ पौष २३, शनिबार १६:३४ बजे

नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले हालको अवस्थामा उद्योगी व्यवसायी निकै ठूलो समस्यामा रहेको बताएका छन् ।

उद्योग संघ मकवानपुरको २१ औं साधारणसभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै उनले देशमा देखिएको आर्थिक समस्याका कारण औद्योगिक उत्पादनको विक्रीमा ७० प्रतिशतसम्म कमी आएको बताएका छन् । उनका अनुसार औद्योगिक उत्पादनमा ४०–७० प्रतिशतसम्म पहिलेको तुलनामा विक्री घटेको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले हेटौंडा औद्योगिक क्षेत्र र बाहिरका उद्योगीहरुले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । उनले राज्यले उद्योगीलाई हेर्ने नजरनै फरक रहेको बताउँदै केही दिनदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएर झन समस्यामा उत्पन्न भएको बताए ।

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक, वाग्मती प्रदेश सभाका सदस्यद्वय एकालाल श्रेष्ठ, भारती पाठक, संघका पूर्वअध्यक्ष एवम् विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको साधारणसभामा उपस्थिति रहेको थियो ।

संघ अध्यक्ष प्याकुरेलको सभाध्यक्षतामा भएको सभामा मामाघर नेपाललाई ११ हजार नगद आर्थिक सहयोग गरिएको थियो । सभामासंघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधीहरु, उद्योगी व्यावसायीलगायत सहभागी थिए ।