२०८१ जेठ ६, आईतबार    

फास्ट ट्र्याकका दुई चिनियाँ निर्माण कम्पनी ‘निलम्बित’

२०७९ जेठ २०, शुक्रबार ११:४६ बजे

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका २ वटा चिनियाँ कम्पनीलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै निलम्बन गरिएको छ । जसमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन छन् ।

फास्ट ट्र्याकको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले दुवै कम्पनीलाई गत मे २३ मा पत्र पठाउँदै निलम्बनबारे सूचित गरेको हो । पत्रमा कहिलेसम्मका लागि निलम्बन गरिएको भन्नेबारे खुलाइएको छैन । 

निलम्बनपछि दुवै प्याकेजमा निर्माणको काम ठप्प छ । पहिलो प्याकेजमा चाइना स्टेट र दोस्रो प्याकेजमा पोली चङ्दाले काम गरिरहेका थिए । ३ वर्षभित्र निर्माण सक्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्ष बितिसक्दा निर्माणमा कुनै पनि प्रगति देखिएको छैन ।

निर्माण कम्पनीलाई पटक–पटक मौखिक, लिखित तथा प्राविधिकहरूको बैठकमा जानकारी गराउँदासमेत कार्यसम्पादनमा सुधार गर्न चासो नदेखाएको परामर्शदाताले पठाएको पत्रमा उल्लेख छ । कान्तिपुरलाई प्राप्त निर्माण कम्पनीलाई परामर्शदाताले पठाएको पत्रमा रोजगारदाता र निर्माणकर्ताको संयुक्त सर्वेक्षणबाट सम्झौताअनुसार काम सन्तोषजनक नभएको उल्लेख छ ।

परामर्शदाताले निलम्बन गर्नुको कारण निर्माण कम्पनीसँग दक्ष सुरुङ इन्जिनियर नभएको, कमसल काम गरिएको, डिजाइन र कार्यविधिलाई बेवास्ता गरिएको, उपकरण र उचित निर्माण सामग्रीको व्यवस्था र परिचालन नगरिएको जनाएको छ । पूर्वसचिव तुलसी सिटौला निर्माण कम्पनीलाई निलम्बन गर्नु भनेको उमाथि छानबिन मात्रै गर्नु रहेको बताउँछन् ।