२०८१ बैशाख १५, शनिबार    

चैतदेखि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएन

२०७९ असार ७, मंगलबार १८:२२ बजे

वाग्मती प्रदेश सरकारले विगत चैतदेखि आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको चैतसम्मका निर्णय सार्वजनिक गरे पनि त्यस यताका कुनै पनि निर्णय बाहिर ल्याएको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले प्रदेश सरकारको नेतृत्व गठबन्धनले गरेदेखि केही महिना निरन्तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको थियो । चैत यताको निर्णय भने सार्वजनिक गरेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुईटेलले सरकारबाट निर्णय सार्वजनिक गर्न अनुमति नआएकाले सार्वजनिक नगरिएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट अनुमति हुना साथ केही दिनभित्रै वेबसाइट मार्फत् निर्णयहरु सार्वजनिक गरिने बताए ।

 

सरकारको आफ्नै नीति नियम अनुसार सबै निर्णय सिष्टमबाटै सार्वजनिक गरिने उनले बताए । उनले भने, ‘सरकारको निर्णय सार्वजनिक हुनुपर्छ, लुकाएर राख्ने कुरा पनि होइन, सरकारको आफ्नै नीति र नियम छ, समयसीमा पनि कायम गरिएको छ । सोही अनुसार हुन्छ ।’

 

सरकारका गोपनीयताका केही विषयबाहेक मन्त्रिपरिषद्ले गरेका सबै निर्णय तोकिएको समयमा सार्वजनिक गर्नुपर्ने प्रावधान रहे पनि प्रदेश सरकारले त्यसतर्फ ध्यान दिएको देखिँदैन ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी बैठक तथा प्रशासन महाशाखाका सचिव यमलाल भूसालले केही दिनमै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुने बताए । उनले सबै तयारी पूरा गरेरमात्र निर्णयहरु सार्वजनिक गर्ने भन्दै तत्काल हेर्न चाहेको भए सूचनाको हक प्रयोग गरी कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने बताए ।

 

प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु चैत मसान्तसम्मको सार्वजनिक हुनु पनि राम्रो उपलब्धि भएको उनको भनाइ छ । कार्यालयले आफ्नो प्रक्रिया अनुसार काम गर्ने भएकाले मन्त्रिपरिषदको निर्णय सार्वजनिकको विषय पनि सोही अनुसार हुने उनले प्रस्ट पारे ।

‘हामी प्रक्रियामै छौं । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने विषयमा सबै ढाँचा पु¥याउनु पर्ने हुन्छ । त्यसैले पनि समय लाग्छ । चैतसम्मको सार्वजनिक हुनु भनेको राम्रो उपलब्धि हो,’ उनले भने ।

उनका अनुसार प्रदेश संरचना नयाँ भएकाले सिष्टममा बस्न केही समय लाग्छ । ‘हामी सबै नयाँ संरचनामा छौं । कति कामहरु सिष्टममा बस्न सकेको छैन । ल्याउने बित्तिकै काम गरिहाल्ने कुरा पनि होइन । सबै प्रक्रिया पूरा गर्दै जानुपर्छ । त्यसैले केही समय लाग्नु स्वाभाविक नै हो,’ उनले भने ।