२०८१ बैशाख १६, आईतबार    

प्रदेशसभाको बैठक आज बस्दै, विपक्षी दलको निरन्तर अवरोध

२०८० असार १८, सोमबार ०९:२९ बजे

बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो । 

२ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलो गरी ४ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए । उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

आइतबार साँझ साँढे पाँच बजे पुनः बस्ने गरी  स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको संसद् सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गरेका छन् । आइतबार नै एमालेले पत्रकार सम्मेलन गर्दै बागमती सरकारको बजेट संशोधन गर्न ११ बुँदे माग गरेको छ ।