२०८१ जेठ ४, शुक्रबार    

कांग्रेसले चार दिनभित्र उम्मेदवार टुंग्याउने

२०७८ चैत्र १८, शुक्रबार १५:५९ बजे

नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ ।

कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन गरेको बताए ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ/नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ । विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए ।