२०८१ बैशाख २०, बिहीबार    

विवाद समाधान भएसँगै एमालेका जिल्ला सदस्यले लिए सपथ

२०७८ फाल्गुन २, सोमबार १५:१६ बजे

हेटौंडा/ पार्टी भित्रको आन्तरिक विवाद समाधान भएसँगै नेकपा एमालेका जिल्ला सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् ।

विवादका कारण एमालेको गत पुस २३–२४ गते हेटौंडामा भएको ११ औं जिल्ला अधिवेशनबाट चुनिएकाहरुको पद तथा गोपनियताको सपथ ग्रहण रोकिएको थियो । पार्टीले कोभिड–१९ संक्रमणको कारण रोकिएको बताएपनि अध्यक्षको विषयमा हालका अध्यक्ष एकालाल श्रेष्ठ र अध्यक्षका उम्मेदवार बद्री लम्सालवीच विवाद भएपछि सपथ ग्रहण प्रभावित बन्दै आइरहेको थियो । योसँगै एमालेको सपथ ग्रहण दुईचरणमा पूरा भएको हो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको थियो । गतमाघ ११ गते जिल्ला पार्टीको कामलाई सहज बनाउने भन्दै पदाधिकारीसहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएकाहरुको सपथग्रहण गरिएको थियो ।

सपथग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम मकवानपुर इञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य भारती पाठक, एमाले पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री डोरमणी पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । सपथ ग्रहणसँगै एकालाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएपछिको पहिलो जिल्ला कमिटीको बैठक पनि बसेको छ ।