२०८१ बैशाख २१, शुक्रबार    

तीर्थदेवी र सुनमायालाई सम्मानित

२०७९ भाद्र १२, आईतबार १४:३० बजे

मकवानपुरका पूर्वराजनीतिकर्मी, साहित्यकार तथा स्वास्थ्यकर्मी तीर्थदेवी सिलवाल र बेचविखनमा परेर फर्किए पश्चात पनि अनवरत मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय सुनमाया तामाङ जागरुक महिला सम्मानबाट सम्मानित भएका छन् ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा शिलवाल र तामाङलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो । रेडियोले तीजको अवसरमा दुइजना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्य, रेडियो सञ्चालक सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रमकै अवसरमा मकवानपुरका अग्रज सञ्चारकर्मी एवम् गायिका सुनिता शर्मा लुईंटेल, रेडियो मकवानपुरका राजन दाहाल खुशराज र विजय पौडेललाई पनि सम्मान गरेको छ ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सामुदायको भावनालाई समेट्न दिव्यतारा सहकारी संस्थाले रेडियो सञ्चालन गरेको जानकारी दिँदै समाजमा योगदान पु¥याएका तर ओझेलमा परेकाहरुलाई सम्मान गर्दै जाने प्रतिबद्धता जनाइन् । महिलाहरु आयआर्जनमा जोडिनु जरुरी रहेको उनको सुझाव थियो । प्रहरी नायब महानिरीक्षक बज्राचार्यले वाग्मती प्रदेशमा आत्महत्या र लागूऔषध दुव्र्यसनको समस्या बढ्दो क्रममा रहेको भन्दै यसको न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्न जरुरी रहेको औंल्याइन् । जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रमलाई लक्की ज्वेलर्सले मुख्य प्रायोजन गरेको थियो भने बैंङ्किङ पार्टनर ज्योति विकास बैंक र डिजिटल पार्टनर सिजी डिजिटल रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, सहकारी बोर्ड बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख बामदेव गौतम, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा, ज्योति विकास बैंकका शाखा प्रबन्धक शिषिर भण्डारी, रेडियोका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रेडियोले तीजमा जागरुक महिला सम्मान र बार्षिकोत्सवमा सामुदायिक सम्मानबाट दुई÷दुईजनालाई सम्मान गर्दै आएको छ ।