२०८१ बैशाख १२, बुधबार    

सरकारले दशैंमा हेटौंडाबाट ३ हजार खसी खरिद गर्ने

२०७९ भाद्र ६, सोमबार १०:५९ बजे

सरकारले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसका लागि ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कम्पनीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘बैठकले रकम विनियोजनको निर्णय गरेको हो, साथै सुपथ मूल्य बजार सञ्चालन सञ्चालन गरिनेबारे पनि छलफल भयो,’ कम्पनी उच्च स्रोतले भन्यो, ‘विनियोजित रकमबाट दुई हजार गोटा खसी र एक हजार च्याँग्रा खरिद हुने अनुमान गरिएको छ ।’

रकम अपुग भए थप गर्ने तर यस वर्ष च्याँग्रा पनि बिक्रीमा राख्ने गरी तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले कोभिड-१९ का कारण पछिल्लो तीन वर्षदेखि दशैंमा च्याँग्रा बिक्री गर्न सकेको थिएन ।

असोज लागेपछि नै पहिले कै स्थानमा यस वर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे पनि आइतबारको बैठकमा छलफल भएको थियो । तर, निर्णय भने भइसकेको छैन । कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने कम्पनीले जनाएको छ । खरिद भएको खसी र च्याँग्रा घटस्थापनाको एक दुई दिनअघि काठमाडौं आइपुग्ने गरी ल्याइने छ । यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्याँग्रा ल्याउने गरी कम्पनीले तयारी सुरु गरेको छ ।

कसरी खरिद हुन्छ सहुलियतको खसी-बोका ?

कम्पनीले खसी-बोका किन्ने तय गरेको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाको कृषि, खाद्य र पशुचिकित्सक सहभागी प्राथमिक खरिद समिति गठन गरिन्छ । उक्त समितिले जिल्ला र वरपर चलेको मूल्यको आधार खसीबोकाको जिउँदो मूल्य तय गर्छ । प्रमुख जिल्ला अधिकारीले मूल्य तय गर्ने र खसीबोकाको स्वास्थताको मापदण्ड पशुचिकित्सकमार्फत तय गरिने छ ।

समितिले निश्चित गरेको मूल्य र स्वस्थ्य मापदण्डका आधारमा घटस्थापनाको एक साता अघि जिल्लस्थित खाद्यको डिपोले खसीबोका बिक्री गर्न किसानलाई आह्वान गर्नेछ । किसानले बिक्रीका लागि ल्याएको खसी च्याँग्रा कम्पनीले किन्ने छ । खरिद गरेको दुई दिन भित्र खसीबोका काठमाडौं ल्याइपुर्‍याउने र घटस्थापनाको दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक बिक्री केन्द्रबाट बिक्री सुरु गर्ने गर्दछ ।