हेटौंडा÷ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार अनिल अग्रवालको प्यानलले मनहरी, रजैया, सानान्टार, बस्तीपुरसहित पश्चिमी क्षेत्रका उद्योगी व्यवसायीलाई परेको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।
चुनावी अभियान अन्तर्गत शुक्रबार पश्चिमी क्षेत्रका उद्योगी व्यवसायी संगको भेटघाट कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘म कार्यसमिति सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष पदसम्म आइपुग्दा यहाँहरुकै साथमा छु’, अध्यक्षका उम्मेदवार अग्रवालले भने, ‘यो पटक अध्यक्ष पदमा रहेर यहाँहरुकै सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु । यस्तै वाणिज्यतर्फका उपाध्यक्ष पदका उम्मेदवार राजु अधिकारीले आफूले उद्योगी व्यवसायीको समस्या, चुनौती र अवसरलाई राम्रोसँग बुझेकोले यो पटक उपाध्यक्ष पदमै रहेर काम गर्न चाहेको बताए ।
भेटघाट कार्यक्रममा उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र घिमिरे, वाणिज्यतर्फको सचिव पदका उम्मेदवार दिवस पराजुली, सहकोषाध्यक्षको उम्मेदवार राधिका सामरी पाण्डे तथा सदस्यका उम्मेदवार रविन ढकाल, यज्ञबहादुर राय विनोद, बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल लगायत पुगेका थिए । मनहरी क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या राख्दै समाधानका लागि आग्रह गरेका थिए । अघिल्लो पटक पनि अनिल अग्रवाललाई मतदान गरेको स्मरण गर्दै यस पटक टिमलाई नै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा यही पुष २४ देखि २७ गतेसम्म हुँदैछ । हाल संघमा २ हजार ९७ जना मतदाता रहेका छन् ।