२०८१ बैशाख २७, बिहीबार    

उद्योग खोल्न जग्गा खोज्दै वाग्मती प्रदेश सरकार

२०७८ माघ ९, आईतबार १६:२५ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारले उद्योग स्थापना गर्न जग्गा खोजी सुरु गरेको छ ।

प्रदेश सरकारले बजेटमा नै कृषि औजार कारखाना सञ्चालन गर्ने र विदेशी सहयोगमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । उक्त उद्योग खोल्नका लागि आवश्यक जग्गाको विषयमा बुझ्न वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । आइतबार दिउँसो मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग र वनस्पति घ्यू उद्योगको निरीक्षण गरेका हुन् । उनले तत्काल कृषि औजार उत्पादन गर्ने कारखाना सञ्चालन गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन समेत हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गरेका छन् । उनले औद्योगिक क्षेत्रको सडक, वर्तमान अवस्थाको विषयमा व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कडेँलसँग जानकारी लिएका थिए ।

‘अहिले औद्योगिक क्षेत्र संघीय सरकार मातहत रहेको छ । हामीले प्रदेशमा ल्याउन पहल समेत गरिरहेका छौं ।’, मुख्यमन्त्री पाण्डेले संघ मातहत रहेपनि औद्योगिक क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘उद्योगको विकास हुनु नै देशको विकास हुनु हो । त्यसकारण हामी औद्योगिक क्षेत्रलाई सहयोग गर्न तयार छौं ।’, उनले भने ।

औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कडेँले त्यहाँको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । औद्योगिक क्षेत्रमा हाल १ सय १० वटा उद्योग सञ्चालित छन् । ‘हाल औद्योगिक क्षेत्रको सवै जग्गा प्रयोगमा रहेको छ ।’, उनले जग्गा ओगट्ने कम्पनीलाई बोलाएर उद्योग स्थापना कार्य अगाडि बढाउन आफूले निर्देशन दिएको बताए ।