२०८१ बैशाख १६, आईतबार    

एमालेको मुख्यमन्त्रीलाई आरोप : कानमा तेल हालेर बसेर हुन्छ ?

२०८० पौष ४, बुधबार १५:४४ बजे

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री जम्कट्टेललाई गम्भीर आरोप लगाएको छ । एमालेले सरकार कानमा तेल हालेर बसिरहेको र जनतालाई परेको समस्यलाई पूर्णरुपमा वेवास्ता गरिरहेको आरोप लगाएको हो ।

एमालेले सरकारले संसद्लाई छल्ने काम गरिरहेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले संसदीय समितिको बैठकले एक वर्ष अवधिको कामको समीक्षा गर्दै सरकारले संसद्लाई छल्ने काम गरिरहेको निष्कर्ष निकालेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलको बैठकको निष्कर्ष र वर्तमान राजनीतिक अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले संसद्लाई छल्ने काम गर्दा जनताका प्रतिनिधिहरु बोल्ने थलो बन्द भएको बताए ।

‘प्रदेशसभाको पहिलो कार्यकालमा ३८ दिन संसद् संचालन भयो, जसमा प्रदेशसभाको ५६ वटा मात्र बैठक बसेका छन् । एमालेले माग गरेपछि मात्र यसअघिको वर्षे अधिवेशन बोलाउने काम भयो । तर अहिलेपनि लामो समयदेखि संसद् बन्द छ,’ उनले भने, ‘सरकार संसद्लाई किन छल्दै छ ? सरकारले बैठकै नबोलाए पछि जनताका प्रतिनिधिहरुले जनताका आवाजहरू कहाँ गएर बोल्ने ?’ सरकार गलत दिशातर्फ अग्रसर भइरहेको उनले आरोप लगाए । 

एमाले बजेटका विषयमा बार्गेनिङ्ग गर्दै संसद् अवरोध नगरेको भन्दै नेता थपलियाले लोकतन्त्रको मुल्य र मान्यताका आधारमा सरकारसँग प्रदेशका सबै क्षेत्रलाई समानुपातिक र समावेशी रुपमा बजेट विनियोजनको माग गरेको बताए । सरकारले प्रतिपक्षले दिएको सुझाव, विभिन्न समयमा भएका सम्भौतालाई वेवास्ता गर्दै आलटाल गर्ने र मनोमानी रुपमा अघि बढिरहेको उनले बताए ।