२०८१ जेठ ५, शनिबार    

मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, २० गतेभित्र निवेदन दिन आह्वान

२०७८ फाल्गुन ९, सोमबार १८:३४ बजे

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि जानकारी दिएको छ ।

'यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति २०७८ फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,' आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावली अद्यावधिक सूची राजपत्रमा प्रकाशन गर्नका लागि पनि आयोगले प्रक्रिया अगाडि बढाएको अर्यालले जानकारी दिएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । स्थानीय तह निर्वाचनमा आवश्क पर्ने २३ प्रकारका निर्वाचन सामग्रीको प्रतिस्पर्धाका आधारमा खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।