२०८१ बैशाख १६, आईतबार    

हेटौंडामा आङ खस्ने समस्याको निःशुल्क अपरेशन शिविर

२०८० असार २१, बिहीबार १०:२० बजे

हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको दुई दिने निःशुल्क अपरेशन शिविर हुने भएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडा अस्पतालमा यही असार २२ र २३ गते दुई दिन निःशुल्क अपरेशन शिविर हुने भएको हो ।

यसअघि मकवानपुरका स्थानीय तहमा भएको स्क्रिनिङ शिविरमा फेला परेका अपरेशन गर्नुपर्ने समस्याका महिलाहरूका साथै शिविरमा छुटेका तर अपरेशन गर्नुपर्ने अवस्थाका महिलाहरूको निःशुल्क अपरेशन हुने निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए ।

उनले समस्या भोगेर बस्नु भन्दा सरकारले उपलब्ध गराएको सुविधा सदुपयोग गर्न सुझाव दिंदै आफ्नो समुदायमा आङ खस्ने समस्या भएका महिला भए शिविरबारे जानकारी गराईदिन जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य, संचारकर्मी, स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतलाई आग्रह गरे ।

उक्त शिविरमा आउँदा १ थान नेपाली नागरिकताको फोटोकपी ल्याउन आग्रह गर्दै उनले शिविरमा आएकाहरूलाई निःशुल्क उपचार, खानाको व्यवस्था र एक हजार रूपैयाँ यातायातको व्यवस्थासमेत रहेको जानकारी दिए ।