२०८१ बैशाख १६, आईतबार    

रोटरीद्वारा हेटौंडा अस्पताललाई ८८ लाखको मेसिन सहयोग

२०८० असार १३, बुधबार २०:०४ बजे

हेटौंडामा मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले रोटरी क्लब अफ मकवानपुरले करिब एक करोड रुपैयाँ बराबरको मेसिन सहयोग गरेको छ ।

मुटु सम्बन्धी समस्याको उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गर्न हेटौंडा अस्पतालका लागि विभिन्न सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण कार्कीले ८८ लाख ६० हजार ४७२ रुपैयाँका सामान हस्तान्तरण गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रोटरीले अस्पतालका लागि टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामाग्री हस्तान्तरण गरेको कार्कीले बताए ।

यसमा हेटौंडा उपमहानगरपालिका सहित विभिन्न देशमा रहेका रोटरिएनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इको कार्डियो मेशिन हस्तान्तरण गरेको हो । सामाग्री सहयोग गरेपछी अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धी उपचार गर्नुपर्ने बिरामीका लागि सहज हुने अस्पतालका अध्यक्ष राजेश प्रसाईंले बताए ।

सामाग्री हस्तान्तरण गर्नुअघि पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिती रहेको थियो ।