२०८१ बैशाख २२, शनिबार    

पुस तेस्रो साताबाट आठौं राष्ट्रिय भेट्रान्स फुटबल

२०७९ मंसिर २६, सोमबार १५:४७ बजे

पुसको तेस्रो साताबाट हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । २० टोली सहभागी हुने प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सञ्चालन हुने आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजक क्लब सचिव कविन सांगामीका अनुसार प्रतियोगितामा २० टोली सहभागी हुनेछ ।

मकवानपुर, चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका क्लबहरु सहभागी हुनेछन् । ‘सम्भव भएसम्म भारत र बंगलादेशबाट पनि हामी क्लब ल्याउने तयारी गरिरहेका छौं ।’, सांगामीका अनुसार प्रतियोगितामा धेरैभन्दा धेरै पूर्वराष्ट्रिय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार, उपविजेताले ५५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयोजक क्लब अध्यक्ष रमेशकुमार उप्रेतीका अनुसार प्रतियोगितामा करिब १४ लाख ९६ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने अध्यक्ष उप्रेतीले जानकारी दिए ।